काठमाडौँ, ५ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालबालिकाको सवल स्वास्थ्यका लागि दिवा खाजा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेकी छन् ।
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट- नेपाल’ले आज थहिँटीस्थित शान्ति शिक्षा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि सबल स्वास्थ्य अनिवार्य शर्त रहेको बताइन् ।
“स्वास्थ्य राम्रो नभइ राम्रो शिक्षा प्राप्त गर्न सकिँदैन”, उनले भन्नि, “राम्रो स्वास्थ्य प्राप्त गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुनेछ ।” सामुदायिक दिवा खाजा कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाइ थियो ।
उनले दिवा खाजा विस्तार गर्ने योजनामा चीन सरकारले पु¥याएको योगदानले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिमा महत्वपूर्ण सहयोग भएको बताइन् । सरकारले कर्णाली प्रदेशबाट सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको थियो । सरकारले विगत तीन वर्षदेखि पूर्वप्राथमिकदेखि ३ कक्षासम्म र चालु आवदेखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिदिन प्रतिविद्यार्थी रु १५ का दरले विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम गरिरहेको छ ।
नेपालको सूचना प्रविधिको क्षेत्रमा चीनले ठूलो योगदान दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको पहुँच र गुणस्तर बढाउने कार्यक्रमा चीनले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । चीनले नेपाललाई जुनसुकै अप्ठ्यारो अवस्थामा सहयोग गर्दै आएको उनको भनाइ थियो ।