पोखरा, २९ पुस । शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् ।
मनाङेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रतिपक्षमा बसेर रचनात्मक काम गर्न उचित ठानेको बताएका छन् ।
‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’, उनले लेखेका छन्, ‘एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु ।’
मनाङबाट स्वतन्त्र रूपमा उठेर सर्वसम्मत रूपमा सांसद बनेका उनी चुनावपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । एकीकृत समाजवादीले गण्डकीमा विश्वासको मत दिन के गर्ला? भन्ने चासो चलिरहेकै बेलामा अधिकारीले मनाङेसँग भेट गरेका थिए ।







