काठमाण्डाै, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ देखाउने सरकार संसद्बाट डराएर अध्यादेशको बाटोमा हिँडेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई तिहाइ मतको दम्भ देखाएको सरकारले अध्यादेशबाटै शासन चलाउन खोजेर बिचौलियालाई खुशी पार्न खोजेको आरोप लगाउनुभएको हो । ३५ वर्ष शासन गर्दा देश विकास भएन भन्ने चिन्ता नगर्ने तर संसद्को हिउँदे अधिवेशन आह्वान गर्नु ६ दिनअघि अध्यादेश ल्याउनुपर्ने के बाध्यता आइपर्याे भनेर उहाँले सरकारलाई प्रश्न सोध्नुभएको छ ।
प्रचण्डले यो सरकारले नागरिकको बोली बन्द गराउन लागि परेको भन्दै आपत्ति जनाउनुभएको छ । साधारण आलोचना गरेकै भरमा, टी–शर्टमा कुनै नेताको फोटो छापेकै आधारमा र सामाजिक सञ्जालमा केही लेखेकै भरमा नागरिकलाई पक्राउ गर्ने र थुन्ने क्रियाकलाप भइरहेको र यसले सरकार निरङ्कुश बाटोमा हिँडिरहेको पुष्टि हुने उहाँकाे दाबी छ ।
पाथीभरा केबलकारको विरोध गर्नेहरूसँग वार्ता गर्नुको साटो गोली हान्ने आदेश दिएर के गर्न खोजेको हो भनेर पनि अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न सोध्नुभएको छ ।
यस्तै प्रधानमन्त्रीले देशभर विकासको मूल फुटेको भन्दै भाषण गरेकोतर्फ इङ्गित गर्दै प्रचण्डले ६ महिनामै कुन जादुले देश विकसित भयो भनेर पनि प्रश्न सोध्नुभएको छ । यदि प्रधानमन्त्रीसँग जादु नै छ भने बुटवल–नारायणगढसहित देशभरका अलपत्र विकास चाँडै पूरा गर्न उहाँकाे आग्रह छ ।
फरक प्रसङ्गमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रतिशोधका आधारमा सरकारले देशभर दौडाइरहेको भन्दै चिन्ता जनाउनुभएको छ । यस्तै लामिछानेको सांसद पद निलम्बन गरिएकोबारे प्रचण्डले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनुभएको छ ।