Logo

दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्छाैँ: प्रचण्ड



काठमाडौँ, २९ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।

आइतवार पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बाग्मती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले यो कुरा बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीको स्थायी समिति बैठकले दुई महिना सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता नागरिककोमा जानुछ । दुई महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र नागिरकसँग अन्तरक्रिया गर्छौँ । अहिले बेला भएको छैन, दुई महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, नागरिकको आकाङ्क्षा पहिचान हुन्छ’, उनले भने, ‘त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौँ ।’

आफूहरूले सरकारको नेतृत्व गरिरहेको र यो आफूहरूका लागि चुनौतीपूर्ण अवसर हो भन्दै प्रधानमन्त्रीले भने, ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ । सरकारले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईँहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्