काठमाडौँ, ५ जेठ । मुसलमान समुदायको पवित्र तीर्थस्थल मक्कामा हज गर्न चाहने नपाली मुसलमानका लागि आवेदन माग गरिएको छ । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले कारोनाका कारण दुई वर्षदेखि रोकिएको हज (तीर्थाटन) गर्नका लागि नेपाली मुसलमानहरुका लागि आवेदन दिन सूचना आह्वान गरेको हो ।
हज समितिले जिल्लाको प्रशासन कार्यालय र अनलाईनबाट आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । समितिले कोभिडविरुद्धको कुनै पनि खोप पूरा गरेकामध्येले जेठ १० भित्र आवेदन दिन सक्ने गरी सूचना प्रकाशन गरेको छ ।
साउदी अरबले सन् २०२२ को हज गर्न नेपालीका लागि ५३७ जना (हज प्रतिनिधिमण्डलबाहेक)को कोटा तोकेको समितिले जनाएको छ । त्यसमा बढीमा ५ सय जना नयाँ आवेदकले आवेदन दिन सक्ने समितिले जनाएको छ । यस वर्ष हज असार २३–२८ मा हुने भएको छ । तर, हज गर्न नेपालबाट भने हजयात्री असार पहिलो साता नै साउदी अरबको जेद्दा हुँदै मक्का जानेछन् ।
सन् २०२० र त्यसभन्दा अगाडिका वर्षहरुमा हज गर्नका लागि आवेदन दिएका आवेदकमध्ये हजयात्रा गर्न नपाएका तथा अहिलेसम्म धरौटी रकम फिर्ता नलिएका तर ६५ वर्षभन्दा कम उमेरका पुरुष र महिलाले हज गर्न पाउनेछन् । हज यात्राका लागि साउदी सरकारले यो वर्षदेखि उमेर तोकेको हो ।
नयाँ आवेदकले हजयात्राको शुल्क भने जम्मा गर्नुपर्ने छैन, तर हजयात्राको लागि छनोट भएका हरुले एकै पटक आवश्यक शुल्क एकमुष्ट जम्मा गर्नुपर्ने समितिले जनाएको छ । हज यात्राका लागि बुझाउनुपर्ने शुल्क समितिले पछि निर्धारण गर्ने भएको छ ।