Logo

दु:खमा स्तरहीन बनेर राजनीतिकरण नगरी दिनुहोला: लामिछाने



काठमाडौँ, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दु:खमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

आफ्ना गाडी चालक दिलबहादुर थापा छतबाट खसेर घाइते भएपछि त्यस घटनालाई लिएर विभिन्न टिप्पणी आउन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

लामिछानेले त्यस घटनालाई लिएर प्रहरी अनुसन्धानमै रहेकाले संवेदनशील घडीमा मौका नछोप्न र चोट लागेको बेला नुन चुक बोकेर नआउन भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमएस (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईँलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नुहुन्छ भने मलाई सहने शक्तिमात्रै दिनु होला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’

प्रतिक्रिया दिनुहोस्