झापा, २४ माघ । सरकारले तोकेको दुधको समर्थन मूल्य कायम नगरे आन्दोलन गर्ने पशुपालन तथा दुग्ध उत्पादक संघले चेतावनी दिएको छ ।
बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत दुग्ध उत्पादक संघ झापाले मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेपनि २०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रति लिटर ८ रुपैयाँ घटाएको उत्पादक संघको आरोप छ । उनीहरूले २०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएको बताएका छन् ।
२०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघ लिले २०८० कार्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरेपनि डेरी उद्योगले बेवास्ता गरेको पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले गुनासो गर्नुभयो ।
डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै उनीहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत उनीहरुले माग गरेका छन् ।
अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहेपनि कोशी प्रदेशमात्र मूल्य घटाईएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले बताए । पशुपालनमा खर्च बढिरहेको र काम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरुलाई पलायन हुने अवस्था आएको उत्पादक संघले बताएको छ ।