झापा, २१ कात्तिक । झापाको मेचीनगर-९ मा रहेको लिफ प्लस प्रालि दुना-टपरी उद्योगमा गएराति आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।
मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए ।
उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो ।
सञ्चालक दाहाल, स्वाभिमान आचार्य, विधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कट्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने पात सङ्कलन कार्यमा सयौँले काम पाउँदै आएका थिए ।






