Logo

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा



काठमाडौँ, २२ चैत । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

पूर्व गोरखा सैनिकसमेत रहेका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए । शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका छन् । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् ।

लामो प्रतिक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बताएको बुढामगरको भनाइ उल्लेख गर्दै विभागका महानिर्देशक लुइँटेलले बताए ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्