Logo

दुर्गा मन्दिरः भेटघाटका लागि चौतारी



बिर्तामोड, १७ जेठ । बिर्तामोडको मुक्तिचौकमा रहेको दुर्गा मन्दिर परिसर बिहानैदेखि भरिभराउ देखिन्छ । यति भनिरहँदा तपाई सोच्नु होला त्यो भिड त्यहा पुजा गर्न आउँनेहरुको हुन सक्छ । तर, तपाईको सोचाइसँग बिल्कुलै मेल नखाने गरी त्यो भिड कोही आफन्त वा साथीभाइलाई कुर्न बस्नेहरुको हो । यसैगरी दिउँसोको चर्को घाममा उनिहरु वरपिपलको छहारीमा बसेका हुन्छन् । यस्तैमा दुर्गामन्दिर परिसरमा भेटिएका झापा दमकका सुमन रिजाल भन्छन्, ‘सजिलो लोकेसन छ, चोक पर्छ, गर्मि छ, शितल र बस्नलाई सजिलो ठाँउ छ ।’

दुर्गा मन्दिर पुजापाठ र भेटघाटका लागि मात्र होइन, राजनीतिक पार्टी, संघ संगठन, संघ संस्थाले बिरोध सुरु गर्ने र अन्त्य गर्ने स्थल पनि हो । दश बीस मानिस जतिखेरै मन्दिर आसपासमा हुने र बरको छहारीले सित्तल दिने भएकाले पनि कोणसभाको लागि रोजाइमा परेको हो । वृद्धवृद्धादेखि युवा युवतीको पनि मिलन स्थल हो दुर्गा मन्दिर । मन्दिर आसपासमा बसेका ज्योतिसीलाई हात र चिना टिपन देखाउनेको पनि राम्रै उस्थिति हुन्छ ।

??

मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोड भएर दैनिक हजारौ यात्रु ओहोरदोहोर गर्ने गर्छन् । यतिमात्रै होइन, पूर्वी पहाडी जिल्लाबाट शिक्षा, रोजगार र स्वास्थ्य सुविधा लिनका लागि यहाँ आउनेको संख्या पनि धेरै छ । यति हुँदाहुँदै पनि बिर्तामोड आसपासका क्षेत्रमा एउटा पनि प्रतिक्षालय छैन । त्यसैले आगन्तुकका लागि दुर्गा मन्दिर परिसर भेटघाटको केन्द्र बन्ने गरेको हो ।

साथीभाइ र आफन्तलाई कुर्नका लागि मन्दिर परिसर उपयुक्त भएको बताउँछिन् मेनुका भट्टराई । धनकुटाबाट पाहुनाको लागि बिर्तामोड आइपुगेकी भट्टराई भन्छिन्, ‘जहाँबाट आउँदा नि म दुर्गा मन्दिरमा छु भनेपछि लिन आइपुग्नु हुन्छ त्यही भएर कुरिरहेकी छु ।’ उनले संकेत गर्दै भनिन्, हेर्नुहोस त मान्छेहरु कति हुनुहुन्छ ? रमाइलो हुन्छ, कुर्न सजिलो हुने र समय बितेको पत्तो नि नहुने ।’

??

करिब तीन दशक अगाडी बनेको सो मन्दिरले समयसँगै थुप्रै परिवर्तनहरु देखेको छ । बटुवाको बिश्राम स्थल र प्रतिक्षा थलो मात्र नभएर बिर्तामोड आसपासका विभिन्न संघ संस्थाको समाज सेवा गर्ने थलोका रुपमा पनि यो परिचित छ । संघ संस्थाद्वारा आयोजना गरिने रक्तदानदेखि लिएर साना ठूला साँस्कृतिक कार्यक्रमसमेत मन्दिर परिसरमा सञ्चालन भइरहेका हुन्छन् ।

शिक्षासेवी जयनारायण ढुङ्गाना र श्रीमति अञ्जना ढुङ्गानाद्धारा निर्मित दुर्गा मन्दिर सञ्चालक समिति नभएका काराण आफैले रेखदेख गरिरहेको पण्डित कृष्णप्रसाद निरौलाले बताए । निरौलाले भने, ‘२०३८/३९ सालतिर बनेको भन्ने सुनेका हो । समिति छैन, ढुङ्गाना दम्पतिले हेरदेख आफै गर्नुहुन्छ ।’ केही वर्ष यता मन्दिरमा पुजापाठ गर्दै आएका पण्डित निरौलाले आफुले अहिलेसम्म कुनैपनि पारिश्रमिक नलिएको बताए । उनले थप्दै भने, ‘यहाँ धेरै मानिस विभिन्न कार्यक्रम गर्न आउँछन्, कसैले आफ्नो इच्छाले १०, २० रुपैयाँ चढाए अलग कुरो हो यतिउति रमक दिनुपर्छ भन्ने छैन ।’

पहिलो पल्ट बिर्तामोड आउँनेलाई पनि दुर्गा मन्दिर पुग्न गाह्रो हुँदैन । आफन्त भेटघाट होस् या साथीभाइ सँगको जम्काभेट, यि सबैको तारतम्य सजिलै मिलाइदिन्छ मन्दिरले । जसले गर्दा आगन्तुकका लागि बिर्तामोडको पहिचान बनेको छ दुर्गा मन्दिर ।

प्रतिक्रिया दिनुहोस्