Logo

देउडा हेर्न गएकी किशोरी बलात्कृत



कैलाली, २४ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।

गत भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ ।

ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रनाउ शाहीले बताउनुभयो ।

“भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्”, प्रनाउ शाहीले भने, “केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौँ ।”

प्रतिक्रिया दिनुहोस्