काठमाडौँ, ११ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन् । चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ ।’ भयो पनि त्यस्तै । चुप लागेरै गठबन्धन भत्काइदिए । निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए । सत्ता हातमा लिन सफल बने ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट्रपति, सभामुख र आधा कार्यकालपछि प्रधानमन्त्री पाउने गरी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो लटमै प्रधानमन्त्री बनाए ।
अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले भनेका थिए, ‘प्रचण्डको प्रधानमन्त्री हुने रहर अब पूरा हुँदैन । उनले समय गुजारे ।’ सम्भवतः यो राजनीतिक चालबाजी थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई यही कथनले पनि प्रचण्डसँग अडान राखिरहन बल पुर्यायो ।
देउवा स्रोतका अनुसार उनी सहमतिबिनै आइतबार ५ बजे गुजार्न चाहन्थे । त्यसपछि संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने अपेक्षामा थिए । त्यसो गर्दा १ महिनाभित्र विश्वासको मत लिँदा पुग्थ्यो । त्यहीबीच बाँकी सहमति जुटाउने ‘उधारो बाटो’ मन पराएका थिए उनले । तर, त्यसलाई अन्तिम समय पल्टाइदिए ओलीले । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।







