Logo

देउवाको रोजाइमा कसरी परे पौडेल ?



काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे । १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए ।

त्यही बलमा पौडेलले १४औं महाधिवेशनमा देउवाविरुद्ध फेरि सभापतिमा प्रतिस्पर्धा गर्न चाहेका थिए । त्यो वातावरण बनाउन इतरसमूहको नेतृत्व गर्दै पौडेल देउवाको सबैभन्दा आलोचकका रूपमा प्रस्तुत भए । तर १४औं महाधिवेशनको सँघारमा २०७८ मंसिर २३ गते पौडेललाई इतरपक्षका नेताहरू नै सभापतिको उम्मेदवारमा स्वीकार गर्न तयार भएनन् । विशेषगरी १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको प्रतिस्पर्धामा उत्रिने अडान लिए । इतरपक्षका शेखर कोइरालासहितका केही युवा नेता पनि पौडेललाई नेता मान्न हिच्किचाए । पौडेललाई सिंह र कोइराला दुवैले सभापतिको उम्मेदवार मान्न चाहेनन् ।

राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका पौडेललाई निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरे । त्यसबाट बिरक्तिएका पौडेल सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगे । मंसिर २४ गते सुरु हुने पार्टीको १४औं महाधिवेशनमा समेत सहभागी नहुने निष्कर्षमा पौडेल पुगे । सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारीको सूचना पाएलगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर २३ गते साँझ नै पौडेल निवास पुगे ।

देउवाले भेटमा पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न सुझाए । लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्‍याएको योगदान मूल्यांकन गर्ने बताउँदै देउवाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरे । पौडेल निकटस्थहरूले पनि उनलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे । पौडेल १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए । तर महाधिवेशनको अन्य प्रक्रियामा उनी सहभागी भएनन् । त्यसपछि पौडेलकै समर्थक र शुभेच्छुकले उनको आलोचना गरे। पहिलो चरणबाट सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट देउवा पुनस् सभापतिमा निर्वाचित भए । त्यसपछि देउवाविरोधी गुटका नेताहरू पौडेलसँग टाढिँदै गए । तर देउवाले पौडेललाई सत्ता साझेदार दलहरूको संयन्त्रको संयोजक बनाउँदै राजनीतिक सक्रियतामा उनलाई जोड्दै गए । गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसे ।

पार्टीको १३औं महाधिवेशनमा पनि सभापतिका लागि देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए । सभापतिको निर्वाचनमा उनी पराजित भए । त्यसपछि संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पनि देउवाले पौडेललाई पराजित गरे । सधैं ‘लभ र हेट’को सम्बन्धमा रहेका यी दुई नेतामध्ये पौडेल अहिले देउवाकै चाहनामा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बन्न पुगेका छन् । अहिलेको समीकरणमा कुनै उलटफेर नभए २००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मेका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायस् छ ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको ३१ हजार बढी मतभार अहिले उनको पक्षमा छ । पौडेललाई राष्ट्रपतिमा अघि सार्ने देउवाको निर्णयले कांग्रेसभित्रको एकतालाई बलियो बनाएको छ । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा पौडेलले एकपटक पनि अवसर नपाएको भन्दै पार्टीभित्रैबाटै आलोचना हुँदै आएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्