Logo

देउवालाई ठाकुरको प्रश्न: गठबन्धनमा ल्याउने कि नल्याउने?



काठमाडौँ, ३ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ पाँच दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् ।

देउवालाई भेट्न बिहीबार ठाकुरसहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए ।

‘तपाईले हामीलाई पाँच दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एक-दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।’

लोसपालाई पाँच दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए । ‘प्रधानमन्त्रीज्यू लोसपालाई पाँच दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ । उहाँ (देउवा)ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ,’ महतोले भने । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्