काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकको रूपमा देख्ने चाहेको बताएका हुन् ।
उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक-पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको बताए । देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगको स्थापना हुन सम्भव रहेको उनको भनाइ छ ।
उनले भने, ‘अब शेरबहादुर देउवाले म पाँच पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ । यदि उहाँले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा.शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, वीपीको छोरालाई दिन्छु भनेर डा.शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा काम माथि आउनेछन् । हामीले त्याग गर्न सकेका छौँ भने पाँच पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहरूलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ ।’







