झापा, ७ माघ । भद्रपुर, हल्दिवारी र विर्तामोडमा पर्ने देवनीय खोलाबाट नियम विपरित नदी जन्य सामग्रीको उत्खनन् कार्य स्थानीय सरकारले रोक्न सकेका छैनन् ।
सम्झौता बिपरित देउनिया खोलामा जेसिभी प्रयोग गरी गिटी बालुवा उत्खनन् गर्ने कार्य स्थानीय सरकारले नरोक्दा नदी दोहन कार्य नरोकिएको हो । विर्तामोड ७, र ८, हल्दिवारी २ र ३ तथा भद्रपुर १०, ७, ४ नम्बर वडाका विभिन्न स्थानबाट डोजर प्रयोग गरी ट्रिफरमा गिटी बालुवा उठाइने गरे पनि स्थानीय सरकार रमिते भइरहेको स्थानीय बासिन्दा बताउँछन् । खेलामा रहेका दर्जनौ गहिरा खाडल बनाएर नियम विपरित गिटी बालुवा निकालिरहेका छन् ।
स्थानीय सरकारले कारवाही गरेजस्तो मात्र गरेर अबैध उत्खनन्लाई संरक्षण गरिरहेको स्थानीयको भनाई छ । कतिपय स्थानमा व्यवसायीले उत्खनन गर्न अनुमती नलिइकन निर्माण सामग्री उत्खनन् गरिरहेका छन् ।
वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन सम्झौता विपरित खोलाबाट उत्खनन् गरिएको गिटी, वालुवा खोला भन्दा पाँच सय मिटर टाढा स्टक गर्नु पर्ने भएपनि डिलमै राख्ने गरिएको छ । देउनिया खोलाका अधिकांस स्थानमा ट्रिपर र स्काभेटर प्रयोग गरी देवनिय खोला दोहन गर्ने कार्य भइरहेको छ । आइईई प्रतिवेदन अनुसार नदीजन्य सामग्री उत्खनन् गर्दा लम्बाई ५ सय मिटर, चौडाई ४० मिटर र गहिराई १ मिटर प्रयोग गर्न पाइने प्रावधान छ । तर, देउनिया खोलाका अधिकांस स्थानमा नियम विपरित उत्खनन् गर्ने काम भइरहेको छ ।
भद्रपुर नगरपालिका प्रशासनको भने देउनिया खोलामा नियम विपरित उत्खनन्मा संलग्न आधादर्जन बढी सवारी साधन तथा सञ्चालक कारवाहीमा गरेको जनाएको छ । नगर सरकारले कारवाही गरेृपनि खोला दोहन नरोकिएको स्थानीयको भनाई छ ।