Logo

देवराज घिमिरेको स्पष्टीकरण: महाकाली सन्धिमा औपचारिक भूमिका नरहेको दाबी



झापा, १५ फागुन । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै सार्वजनिक स्पष्टीकरण दिएका छन्। विज्ञप्ति जारी गर्दै उनले उक्त सन्धिसम्बन्धी बहसमा आफ्नो भूमिकाबारे स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

घिमिरेले महाकाली सन्धिका विषयमा उठाइएका जिज्ञासाको उत्तर दिँदै आएको उल्लेख गर्दै तथ्यपरक अध्ययनबिना आरोप लगाउनु उपयुक्त नहुने बताएका छन्। घृणामूलक राजनीतिक प्रवृत्तिबाट प्रेरित टिप्पणीहरू भइरहेको दाबी गर्दै उनले सम्बन्धित पक्षलाई सन्धिको वस्तुगत विश्लेषण गर्न आग्रह गरेका छन्।

उनका अनुसार केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यले खिचिएको भिडियो सन्दर्भबाहिर प्रयोग गरिएको छ। आफूले नियोजित रूपमा सामग्री तयार गरिएको थाहा पाएपछि प्रतिक्रिया नदिएको तर अहिले सोही भिडियो एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको उनले उल्लेख गरेका छन्।

घिमिरेले कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको भन्दै लोकतान्त्रिक दलभित्र नीतिगत छलफलका क्रममा धारणा व्यक्त गर्नुबाहेक अन्य औपचारिक भूमिका नरहेको बताएका छन्।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी राष्ट्रसँग सन्धि गर्ने अधिकार राख्छ भन्ने प्रचार तथ्यविहीन रहेको उनको टिप्पणी छ।

करिब पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले राजनीति आफ्ना लागि सेवाको माध्यम भएको बताएका छन्। व्यक्तिगत लाभका लागि पद प्रयोग नगरेको दाबी गर्दै उनले राजकीय जिम्मेवारी सम्हालेको अवधिमा इमानदारीपूर्वक कार्यसम्पादन गरेको जनाएका छन्। साथै झापा क्षेत्र नं. २ का मतदाताप्रति आफू उत्तरदायी रहेको उल्लेख गर्दै विगत तथा पछिल्लो तीन वर्षका कामको मूल्याङ्कन गर्न तयार रहेको र त्रुटि भेटिए स्वीकार गर्न इच्छुक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्