Logo

देविका पाल्शिकर नेपाली महिला क्रिकेट टाेलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त



काठमाडौँ, २१ साउन । आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ ।

देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बनेकी थिइन् । मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस्मा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (युएई) र कतार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्