Logo

देशकाे अर्थतन्त्र गम्भीर स्थितिमा: चौधरी



काठमाडौँ, ५ जेष्ठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद चौधरीले कोरोना महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए ।

सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाए । उनले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र गति नलिने बताए । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गरेका छन् ।

‘बजेटको बेलामा बाहेक अरुबेला देशको अर्थतन्त्र कता गइरहेको छ भनेर गम्भीरतापूर्वक छलफल नगर्ने हाम्रो मानसिकता, कहिले कोभिड, युक्रेन र रसियाको युद्ध जस्ता कुराहरुको आडमा देशले भोगेको अत्यन्त विमतिलाई लुकाउने जष्टिफाइ गर्ने पुरानो प्रवृतिको निरन्तरताको फलस्वरुप अझै पनि देशको अर्थतन्त्र त्यस्तै गम्भीर स्थितिमा उभिएको छु उनले भने, ‘हाम्रा विकास बजेट कार्यान्वयन गर्ने प्रशासकीय क्षमता अत्यन्तै कमजोर भयो भन्ने कुरा पटक-पटक हामीले १० औं वर्षदेखि भन्दै आएका छौं । अहिले पनि जेठ ४ गतेसम्म ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र रफ्तार समात्दैन । अहिलेको हाम्रो अर्थतन्त्रको बेथा पनि त्यही नै हो ।’

प्रतिक्रिया दिनुहोस्