काठमाण्डाै, ३ फागुन । आज देशका धेरै ठाउँमा बादल लागेर केही ठाउँमा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कास्कीको छोमरोङमा ७ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
यस्तै मनाङको ताल क्षेत्रमा ५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलको मापन केन्द्रले पनि ३ दशमलव ३ मिलिमिटर वर्षा मापन गरेको छ ।
बितेको २४ घण्टामा गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । सुदूरपश्चिमको डडेल्धुरा तथा कैलालीका बचिला र बलिया केन्द्रमा फाटफुट वर्षा रेकर्ड भएको छ ।
यस्तै देशको सबैजसो हिमाली क्षेत्रमा हिमपात भएको विभागले जनाएको छ । केही उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।
अहिले सक्रिय प्रणालीको प्रभावले राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा पनि दिनभर बादल लागेकोले राम्रोसँग घाम लागेन । भोलिदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्यम खालको वर्षाको सम्भावना समेत छ ।
यसपालिको हिउँद सुक्खा भइरहेको बला हिउँद सकिने बेला पानी पर्ने सङ्केत देखिएको हो । नेपालको मौसमी पात्रोमा मङ्सिर १६ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । यो वर्षको हिउँद सकिन लाग्दा औसतको ९ प्रतिशत मात्रै पानी परेको छ । धेरै ठाउँमा त पानी परेकै छैन । पानी नपर्दा वायु प्रदूषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ ।