Logo

देशका समस्या समाधान गर्न सबै पार्टी एकजुट हुनुपर्छ: नेपाल



जनकपुर, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।

आइतवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए ।

उनले एमालेलगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए । उनले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरेका थिए ।

उनले भने, ‘देशमा देखिएका चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो । सङ्कटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो ।’

अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमान मात्रै भएको टिप्पणी गरेका थिए । आफूहरूका बीचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाइ छ ।

उनले वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आह्वान गरिरहेको भन्दै एजेन्डा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्