काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्री लयमा फर्कन सुरु गरेको दाबी गरेका हुन् ।
‘सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएका छन् ।’
प्रधानमन्त्री दाहालले असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचत रहेको जानकारी दिए । साथै विदेशी विनिमय संचिति पनि गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई आगामी दश महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा रहेको जनाएका हुन् ।