Logo

देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड



नेपालगन्ज, ११ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै प्रचण्डले सो बताउनुभएको हो । उद्योग, व्यापार, कृषि, पर्यटन, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को उहाँले म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रका समस्याहरु बढ्दै गएको जनाउँदै त्यसका लागि उद्योगी व्यवसायीहरुद्वारा चिन्ता गरिनु स्वाभाविक रहेको पनि बताउनुभयो । सबैले मिलेर गम्भीर चिन्तनका साथ अगाडि बढ्ने हो भने अझै पनि देशको आर्थिक अवस्थालाई धेरै माथि उकास्न सकिने सम्भावना कायमै रहेको उहाँको भनाइ थियो ।

पूर्व प्रधानमन्त्रीले थप्नुभयो, “देशमा केही पनि भएको छैन, सबै खत्तम भयो भन्ने भाष्य बनाउन आवश्यक छैन, धेरै कामहरु भएका छन् र अझै पनि सबैले मिलेर अगाडि बढ्ने हो भने देशलाई समृद्ध बनाउन सकिन्छ ।”

आर्थिक विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन यस्ता महोत्सवहरुले निकै सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहत मिल्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्