Logo

देशको आर्थिक विकासको मुख्य मेरुदण्ड नै कृषि: प्रचण्ड



काठमाडौँ, २६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए । उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताए ।

“कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो,” प्रचण्डले भने, “ ५०÷६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबै चिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो । किन यस्तो भइराखेको छ, हाम्रो चिन्ताको विषय भयो ।”

प्रचण्डले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए । अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

“रणनीतिक रुपमा, दीर्घकालीन नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ,” प्रचण्डले भने, “म तपाई सबै साथीहरुको यतापट्टी विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । र, तपाईहरु यसमा चिन्तन, मनन् गर्नुहोस् ।”

प्रचण्डले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवाहरुलाई आग्रह गरे । उनले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्