काठमाडौँ, २२ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नागरिकको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले देश भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै देशको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताएका हुन् ।
‘नेताहरू गफमात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौँ तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ’, उनले भने, ‘देश बनाउन कर्मशील र इमानदार नेताको आवश्यक छ । दृष्टिकोणसहितको नेताको अभावले नागरिकले दु:ख पाइरहेका छन् ।’
पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उपसभापति गुरुङले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए । ‘तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन’, उनले भने ।
छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत देशले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताए ।







