गोरखा, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनबाट सोचेजस्तो परिणाम नआएको बताएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
गोरखामा गठबन्धन सफल भए पनि अपेक्षाकृत मत नआएको भन्दै उनले देशभरमै अपेक्षा गरे अनुसार नतिजा नआएको बताए ।
‘गोरखामा परिणाम सुखद नै भएको छ, हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ तर हाम्रो अपेक्षा जसरी परिणाम भन्ने थियो त्यस्तो चाहिँ अलि भएन भन्ने पनि छ।’ प्रचण्डले भने, ‘नसोचेको नसोचेको केही केही कुरा भए भन्ने पनि छ ।’
उनले अब गठबन्धनको बैठक तत्काल बस्नुपर्ने भएको बताए ।
‘यहाँ मात्रै होइन देशैभरबाट अपेक्षा गरे अनुसार परिणाम आएन भन्ने नै हो, त्यसका निम्ति गठबन्धन दलहरूले केही जरुरी गृहकार्य गर्नैपर्ने भएको छ’ उनले भने, ‘त्यसैले म अहिले नै काठमाडौँ जाँदैछु, अब गाउँगाउँका मतदातालाई धन्यवाद दिन म दुई चार दिनपछि आउँछु ।’







