Logo

देशभर हालसम्म झन्डै २० प्रतिशत रोपाइँ



काठमाडौँ १६ असार । देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ ।

गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

प्रदेश(२ मा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ । पश्चिममा अलि छिटो रोपाइँ हुने गरेको तर पूर्वमा मकैबाली र चैते धानबालीका कारण ढिलो हुने गरेको वरिष्ठ कृषि अर्थविज्ञ जोशीको भनाइ छ ।

धान रोपाइँ ढिला हुनुमा मुख्य दुई कारण मल र सिँचाइ रहेका छन् । किसानले बेलैमा मल पाउन नसक्दा कुरेर बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्