Logo

देशभर फूलपाती मनाइँदै, हनुमानढोकामा विशेष समारोहसहित भित्र्याइने



काठमाडौं, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आज गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो।

“केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मा वृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्” उहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्