काठमाडौँ, २३ जेठ । मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता अगाडि अर्थात जुन ५ मै प्रवेश गरेको छ ।
आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालका अन्य भू-भागमा मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ ।
हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको छ ।