काठमाडौँ, ३० असार । देशभर हालसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ ।
मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । यस वर्ष मनसुनमा पानी कम पर्ने यसअघि नै पूर्वानुमान गरिएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । त्यस्तै जनशक्तिको अभाव र लागत महंगो हुँदा पनि किसान समस्यामा छन् ।
यहि बेला पशुचौपायमा लम्पी स्कीन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।