काठमाडौं, ७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी हजारौँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्, जसले आगामी चुनावी प्रतिस्पर्धालाई थप रोचक र व्यापक बनाएको छ।
आयोगको प्रारम्भिक विवरणअनुसार कुल ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसमध्ये ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष र एक जना अन्य समूहबाट रहेका छन्। उम्मेदवारको संख्या बढेसँगै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ।
राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन्। यसमा २३५ महिला र २ हजार ६४ पुरुष उम्मेदवार समावेश छन्। बाँकी १ हजार १ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्, जसले स्थानीयस्तरमा वैकल्पिक राजनीतिक धार र मुद्दालाई उठाउने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ। आयोगले अब उम्मेदवारीको प्रारम्भिक सूची प्रकाशन, दाबी–विरोध र अन्तिम नामावली सार्वजनिक गर्ने तालिकाअनुसार प्रक्रिया अघि बढाउनेछ।
आगामी दिनमा उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै घरदैलो तथा जनसभामार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने तयारी गरिरहेका छन्। यससँगै देशभर चुनावी माहोल थप तातिँदै जाने अपेक्षा गरिएको छ।
झापामा २१ दल र स्वतन्त्रसहित ९० जना चुनावी मैदानमा
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विभिन्न २१ राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र गरी कुल ९० जनाले प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दर्ता गराएपछि जिल्लामा चुनावी माहोल थप तातिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तोकेको थियो। सो अवधिभर उम्मेदवारहरू आफ्ना समर्थक र पार्टी कार्यकर्तासँगै कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका थिए।







