काठमाडौँ, ११ असोज । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखापरेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताएका हुन् ।
उनले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताएका छन् ।
त्यस्तै आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको उनले बताएका हुन् ।
उनले भने, ‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरुले उठाएका प्रश्नहरु, गुनासोहरुको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ ।’
प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपिल गरेका छन् ।







