Logo

देशलाई निकास दिन कांग्रेस-एमाले मिल्नु पर्छ: डा.कोइराला



विराटनगर , २२ चैत । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताए । उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरेका थिए ।

उनले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताए । उनले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताएका छन् ।

उनले विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताएका छन् ।

उनले भने, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । त्यसको लागि अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । योभन्दा पहिला नेपाली काँग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनै पनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा त, हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ । पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’

कोशी प्रदेश सरकार अब के हुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार विघटन भए मध्यावधिमा जाने स्पष्ट रहेको बताएका छन् ।

उनले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्