काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् ।
नेता निधिले देशमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका हुन् ।
१५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर देशको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पारेका छन् ।
नेता निधिले नेपालको मात्रै नभइ विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्कसमेत गरे । आलोचकहरू पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उनको भनाइ थियो ।







