काठमाडौँ, ३२ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् ।
देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उनको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए ।
नेपाल-चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले तत्काल पार्टी एकताका लागि आधार नबनेपनि वामपन्थी दलहरुबीच तालमेल गरेर जान सकिने पटकपटक दोहोर्याएका छन् ।







