काठमाडौँ, १४ भदौ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् ।
मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
मन्त्री भुसालले देशले विद्युत्को क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत् उत्पादन गरेर आफैले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन् ।
मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत् खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् ।
भुसालले पछिल्लो एक वर्षमा विद्युत् खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् । उनले रूस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन् ।







