
काठमाडौँ, ३० असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
‘आज पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भने । प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तयारी पनि गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा आज बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाको तर्फबाट खेलेका निसिम थापाको ज्यान गएको छ ।







