झापा, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अभिभावकत्वका लागि राजा चाहिएको बताउनुभएको छ ।
झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङ्देनले देश अभिभावबिहीनको अवस्थामा रहेकाले राजालाई अभिभावक बनाउनुपर्ने बताउनुभएको हो।
उनले भन्नुभयो, ‘राजा आउँछन् र हामीलाई प्रधानमन्त्री बनाउँछन् भनेर राजा चाहियो भनेको होइन। देशको अभिभावकत्वका लागि राजा चाहियो भनेका हौं।’
ठूला राजनीतिक दलका नेताहरूकै कारण नेपालको अवस्था बिग्रिँदै गएको उहाले उललेख गर्नुभयो । देशको अवस्था बिग्रे नेताहरूको केही नबिग्रिने तर युवावर्गको भविष्य बिग्रिने उहाले बताउनुभयो।
लिङ्देनले भन्नुभयो, ‘यो देशको अवस्था बिग्रे नेताको केही बिग्रिँदैन। तपाईंहरूको भविष्य बिग्रिन्छ।’ इच्छाशक्ति देखाएर काम गरे पाँच बर्षमा देशको अवस्थामा सुधार हुने उहाको भनाइ थियो। राप्रपाले सत्ताको नेतृत्व गर्ने मौका पाए दश बर्षमा युवालाई देशमै भविष्य खोज्ने वातावरणको निर्माण गर्ने उहाले दाबी गर्नुभयो।
राजनीतिमा अब युवाले हस्तक्षेप गर्नुपर्ने लिङ्देनको भनाई छ । आफू पनि विद्यार्थी संगठनबाट राजनीतिमा आएको बताउँदै उहाले अब युवावर्ग राजनीतिमा होमिनुपर्ने बताउनुभयो। राप्रपाको विद्यार्थी संगठनमा आवद्ध भएपछि अनुशासित बन्नुपर्ने भन्दै विद्यार्थीहरूलाई उहाले निर्देशन दिनुभयो ।