Logo

‘देश आर्थिक रूपमा जुनसुकै बेला पनि असफल बन्न सक्छ’



विराटनगर, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल आर्थिक रूपमा श्रीलंकाकै बाटोमा गएको र राजनीतिक अवस्था पनि धरासायी बनेको बताएका छन् ।

राप्रपाले प्रदेश १ को राजधानी विराटनगरमा आज गरेको राजनीतिक सभामा बोल्दै लिङ्देनले देश अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको र आर्थिक रूपमा जुनबेला पनि असफल हुन सक्ने बताए ।

उनले धर्म जोगाउने र कुशासनबाट देशलाई मुक्त दिलाउन अर्को संघर्ष हुनुपर्ने भन्दै नेपाल जुनसुकै बेला असफ राष्ट्र बन्ने खतरा भएको जिकिर गरेका छन् ।

“सरकारका तीनवटै अंगले काम गरेको छैन । अदालत अदालत जस्तो छैन । संसद् संसद्जस्तो छैन । अनि कार्यपालिका पनि त्यस्तै छ । यो देश जतिबेला असफल बन्न सक्छ,” उनले भने ।

उनले भने, “कुनै पनि बेला नेपालको अवस्था श्रीलंकाजस्तो हुन सक्छ । बैंकमा पैसा छैन । गर्भनर राजिनामा दिएर भागेका छन् । मन्त्रीका मन्त्री राजीनामा दिएर भागेका छन् । नेपालमा पनि यस्तो अवस्था नआउला भन्ने अवस्था छैन ।”

लिङ्देनले देश अति नै संकटपूर्ण अवस्थामा गुज्रिरहेको दाबी गर्दै राजनीतिक रूपमा पनि असफलता मात्र हात लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्