
काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् ।
आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरूपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरू सामान्य विषय बनेको बताए ।
उनले भने, ‘आज देश एक प्रकारले पूर्णरूपले अभिभावकविहीन बनेको छ । अहिलेको सरकार सत्तामा टिक्नका लागि जे पनि गरिरहेको छ । भ्रष्टाचार त सामान्य विषय भएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेका छन् । त्यस कारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउने, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा हुनुपर्ने समय आएको छ ।’







