Logo

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूकाे नियन्त्रणमा पर्‍याे: महामन्त्री थापा



काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका छन् ।

बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताएका हुन् ।

उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दु:खद पक्ष भएको उल्लेख गरे । यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशहरूका बारेमा आफूलाई जानकारी नभएको महामन्त्री थापाको भनाइ छ ।

उनले भने, ‘हामीले संविधान बनायौँ । देश ट्र्याकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरू बनेका छन् । बिस्तारै ती संस्थाहरूलाई बलियो बनाउने प्रयास भइरहेको छ । तर नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दु:खद पक्ष भनेको देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको छ । नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरू । मिले पनि उहाँहरू । यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास सुरु भएको पनि उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको चुनावमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । उनले पुराना नेतृत्वसँगको प्रतिस्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने सङ्केत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्