काठमाडौं, १२ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब ‘टालटुले सुधार’ ले मात्रै नपुग्ने र व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै उनले देशले हार्ने स्थिति आयो भने कसैको पनि भविष्य सुरक्षित नरहने चेतावनी दिए र आम नागरिक तथा युवालाई जागृत हुन आह्वान गरे।
लिङ्देनले आगामी निर्वाचन मात्र समाधान नभएको दाबी गर्दै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सरोकारवाला पक्षबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको प्रस्ताव अघि सारे। “अबको सम्झौता यस्तो हुनुपर्छ जहाँ कसैको हार नहोस्, देशले जितोस्,” उनले भने।
उनले नेपाली कांग्रेस, एमाले र माओवादीले देशलाई संकटतर्फ डोर्याएको आरोप लगाउँदै ती दलका नेताहरू आफ्नै पार्टीभित्र उत्पन्न विद्रोहसमेत बुझ्न असमर्थ रहेको टिप्पणी गरे। भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु मानेको उल्लेख गर्दै लिङ्देनले संवैधानिक निकायमा दलीय भागबण्डाको अन्त्य नभएसम्म भ्रष्टाचारीमाथि प्रभावकारी कारबाही सम्भव छैन भन्ने दाबी गरे।







