काठमाडौँ, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन् ।
शनिबार बुद्धिजीवी परिषद्को कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको बताएका हुन् ।
‘एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ? भन्ने थाहा पाउनुपर्यो । एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार गर्न खोजिन्छ। किनभने रूपान्तरणविरोधी शक्तिहरू सत्ता कब्जा गर्न सफल छन्,’ उनले भने ।
अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरू जनता अल्झाउन सफल भएको बताएका हुन् ।
‘जनताको चेतनालाई रोक्न सफल छन् । तसर्थ बौद्धिक जगतले जनतालाई भ्रममा पार्ने र दिग्भ्रमित गर्ने र सही बाटोबाट अगाडि बढ्न नदिने शक्तिको जञ्जालबाट मुक्त गर्नुपर्छ । अहिले बौद्धिक जगतले जनतालाई भ्रमबाट मुक्त गर्न बिगुल फुक्नुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले देशमा भ्रष्ट तत्वहरुको चर्को आवाज भएको बताएका छन् । उनले राष्ट्रघाती तत्वबाट जनतामा राष्ट्रिय भाव र चेतना फैलाउनुपर्ने बताए ।







