झापा, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी हस्तक्षेप बढेकाले नेपाल नेपालीले नै चलाउनु पर्ने बताएका छन् ।
शुक्रबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बनाउने मान्छे मै हो भनेर आफूबाट सुरु गर्नुपर्ने बताए । ‘देश बनाउने युवाले हो, देश बनाउने आत्मविश्वासले हो, देश बनाउने उद्यमशीलताले हो’, उनले भने ।
कार्यक्रममा बोल्दै उनले देश जोगाउन र बनाउन अब स्पष्ट अडान राखेर अडिनुपर्ने बताए, ‘हरेक देशले लडेर राष्ट्रियता रक्षा गरेको छ, आज हामीले लडेर रक्षा गर्नुपर्दैन, हाम्रा राष्ट्रिय हितहरूमा, अडानहरूमा हामी अडिए पुग्छ, नेपाल नेपालीले चलाउने हो, अरूले होइन, नेपाल नेपालीले बनाउने हो अरूले होइन’, अध्यक्ष ओलीले भने ।
देश बनाउनको लागि आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिए । यसको लागि नेतृत्व विकासमा जोड दिनुपर्ने उनले बताए ।
भौगोलिक हिसाबले पनि नेपाल जीवनमय भएको उनले प्रष्ट पारे । नेपालको हरेक ठाउँमा जीव र बोट बिरुवा उत्पत्ति हुने उनले बताए । उनले हरेक नागरिकमा देश भक्तिको भावना हुनुपर्ने बताए ।







