चरिकोट , २५ भदौ । प्रतिनिधिसभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखाबाट सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस भएकी हुन् । दोलखाबाट नै सिर्जना कार्की र दिपक धनुके समेत सिफारिस भएका छन् ।
सङ्गिता तामाङ नेकपा एकीकृत समाजवादीकी जिल्ला सहसचिव, एकीकृत समाजवादी बागमती प्रदेश महिला सङ्घ सचिव र स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाका गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेवार भई निकटतम प्रतिद्वन्दी हुन् । उनी ३३०० मत बदर हुन पुग्दा हुँदा ३४३ मतले मात्र पछाडि परेकी थिइन् । उनी विद्यार्थी राजनीतिबाट दोलखा जिल्ला उपाध्यक्ष हुँदै अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालसम्म जिम्मेवारी निर्वाह गर्न सक्षम विद्यार्थी नेतृत्व हुन् ।
अनेरास्ववियूको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै उनको दोलखा जिल्लामा केन्द्रीय राजनीतिमा समेत पहुँच राख्ने नेतृ हुन् । निडर, हक्की स्वभावकी नेतृ संगिता तामाङले आफ्नो राजनीतिक जीवन भने कक्षा ६ पढ्दै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भई १४ वर्षकै उमेरबाट प्रारम्भ गरेको हुन् ।
आगामी चुनावमा जनतामाझ गई विश्वास जितेर आवश्यक मत प्राप्त गर्ने विश्वास उनले लिएकी छिन् । तथापि, समानुपातिक बन्दसूचीमा परेर देशभरि पार्टीले प्राप्त मतको आधारमा मात्र मनोनयन हुन सक्ने भएकोले सङ्घीय संसदमा पुग्ने उनको यात्रा प्रतीक्षाको विषय बनेको छ।






