
काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले पुनः अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीले भन्दा १ हजार १ सय ९५ मत बढीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीे सिवाकोटी भन्दा अघि भएका हुन् ।
माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ ।
मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले १० वटा केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो । निर्वाचन मतगणना अनुसार कहिले कार्की र कहिले एमालेका उम्मेदवार सिवाकोटीले अग्रता लिँदै आएका छन् । गणना सकिने लाग्दा भने कार्कीले मतान्तर बढाएका छन् ।







