Logo

दोस्रो टी-२० खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित



काठमाडौँ, १७ चैत । नेपाल ‘ए’ टिम आयरल्यान्ड ‘ए’ सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।

जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी-२० शृङ्खला आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै शृङ्खला जितेको छ । शृङ्खलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ २१ रनले विजयी भएको थियो ।

नेपालका लागि देव खनालले २५ बल खेल्दै सात चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए । आयरल्यान्ड ‘ए’ का लागि वेन ह्वाइटले तीन विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले दुई-दुई विकेट लिएका थिए ।

त्यसअघि ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय २४ रनको विशाल योगफल तयार पारेको थियो ।

उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा सात छक्का र एक चौका प्रहार गरे । साथै पिटर मूरले ६५ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७, फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए ।

नेपाल ‘ए’का लागि सागर ढकालले तीन विकेट लिए भने कमल ऐरी, पवन सर्राफले एक-एक विकेट लिए । शृङ्खलाको तेस्रो खेल आगामी सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्