Logo

‘द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्छ’



काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्ने बताएको छ ।

कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै एक दलको मात्रै नभएर सिङ्गो राज्यको दायित्व रहेको भन्दै यस्ता मुद्दालाई अदालतका नियमित इजलासले नभई सङ्क्रमणकालीन न्याय संयन्त्रबाट सल्टाउनुपर्ने बताएका हुन् ।

लेखकले भने, ‘द्वन्द्वकालीन मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभएर सङ्क्रमणकालीन न्याय पद्धतिबाट हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई पनि राम्ररी थाहा छ । यसबारे पहिले नै फैसला पनि आइसकेको छ । यस्ता मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित हुँदैन । सङ्क्रमणकालीन न्याय पद्धतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्चलाई राम्ररी थाहा छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सन्दर्भलाई लक्षित गर्दै लेखकले यो कुनै एउटा दल र व्यक्तिको मात्रै मुद्दा नभएर सिङ्गो राज्यको मुद्धा भएको र सबै मिलेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेका थिए ।

द्वन्द्वकालीन मुद्दालाई सामान्य फौजदारी न्याय सम्पादनबाट समाधान नगरेर सङ्क्रमणकालीन न्याय पद्धतिबाटै समाधान गर्नुपर्ने कुरा सर्वोच्च अदालतले पनि राम्ररी बुझेकोमा आफूलाई विश्वास रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्