धनुषा, १६ माघ । धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।
‘हामी ड्युटीमै थियौँ । अगाडिबाट भित्रको हिरासत देखिँदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट तोडेर अभियुक्तहरु भागेका हुन्’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।
फरार भएकाहरुको तीव्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । हिरासतमा जम्मा सात जना थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् ।
इलाका प्रहरी कार्यालयको भवन पुरानो छ । हिरासतपट्टिको भाग कमजोर भएका कारण तोडेर उनीहरू भागेका प्रहरीले जनाएको छ ।






