काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् ।
नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा कुनै कञ्जुस्याइँ नगरिने बताए ।
उनले भने, “लामो समयदेखि गलत नीति, संस्कार, बेथिती, कार्यशैली र मुख्यत: भ्रष्टाचारका कारणले नै नेपालको स्थिति अहिले आर्थिक सङ्कटको स्थिति बनेको हो ।”
उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाईं भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताए । उनले भने, “सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतीपूर्ण छ । सुशासन भन्नेबित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।”
प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताए । उनले भने, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।”
प्रतिगमनविरुद्धको आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “दुई/दुई पटक संसद् विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्र परास्त भए, नेपाली जनता फेरि विजयी भए, हामी फेरि विजयी भयौँ ।”







